Kathmandu Press

छठका लागि चार करोडको केरा आयात

छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।
छठका लागि चार करोडको केरा आयात

धनुषा, मंसिर १ : छठ पर्वका लागि मधेस प्रदेशको राजधानी जनकपुरधाममा मात्रै रू चार करोडको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका वर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ ।

छठमा सिङ्गै केराको घरी भगवान्लाई अर्घ्यका रुपमा चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुने र आपूर्ति कम हुँदा हरेक वर्ष आयात गर्नुपर्ने जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले बताए।

Hardik ivf

उनका अनसार केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन।

स्थानीयस्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनु परेको अध्यक्ष यादवको भनाइ थियो। “गत वर्ष रू पौने दुई करोडभन्दा बढीको केरा जनकपुर भित्र्याइएको थियो”, उनले भन्, “यस वर्ष झन्डै ७० ट्रक केरा भित्र्याइएका छन्।”

जनकपुरमा गोपाल र वंशीभोग जातका केरा सप्तरी जिल्लाको भारदह, भान्टाबारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चिनी चम्पा जातका केरा भारतको आसाम, गोहाटी, बङ्गाल, हाजिपुर, ठाकुरगञ्ज र चम्पारणबाट मगाउने गरिएको समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए।

छठ पर्वसँगै गत वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको उनले बताए। “छठ मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएकाले केराको माग पनि बढेको हो। बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष १५-२० ट्रक बढी केरा मगाइएको छ”, उनले भने।

समितिका अध्यक्ष यादवका अनुसार १० चक्काको ट्रकमा एक हजार दुई सय घरी आउँछ। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च रू छ लाख पर्ने उहाँले जानकारी दिए। बजारमा प्रत्येक केराको घरीलाई पाँच सयदेखि एक हजारसम्ममा बिक्री गरिन्छ।

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, मंसिर १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्