अलैँची निकासीमा उल्लेख्य वृद्धि
यो आर्थिक वर्षको साउन, भदौ र असोजमा गरी एक अर्ब ८९ करोड ७६ लाख रुपैयाँको अलैँची निकासी भएको हो।विराटनगर, कात्तिक २७ : कोशी प्रदेशका पहाडी जिल्लाको मुख्य उत्पादन मध्येको अलैँची निकासी उल्लेख्य रुपमा बढेको छ। चालु आर्थिक वर्षको तीन महिनामा अलैँची निकासी ५६ प्रतिशतले बढेको हो।
यो आर्थिक वर्षको साउन, भदौ र असोजमा गरी एक अर्ब ८९ करोड ७६ लाख रुपैयाँको अलैँची निकासी भएको हो। गत वर्षको सोही अवधिमा एक अर्ब २० करोड ६१ लाख रुपैयाँको अलैँची निकासी भएको थियो। विदेशमा अलैँचीको माग बढेपछि निर्यात वृद्धि भएको भन्सार विभागले जनाएको छ।
ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभा, भोजपुर, तेह्रथुम लगायत जिल्लामा अलैँची खेती प्रशस्त हुने गरेको छ। ती जिल्लामा उत्पादित अलैँची झापाको बिर्तामोडमा संकलन गरी व्यवसायीहरुले भारत र अन्य मुलुकमा निर्यात गर्ने गरेका छन्।
मुख्य गरी भारत र पाकिस्तानमा अलैँची जाने गरेको व्यवसायीहरु बताउँछन्। यसैगरी केही परिमाण अलैँची इटाली, जर्मनी र अमेरिकामा पनि निर्यात हुने गरेको छ। आर्थिक वर्ष २०७८–७९ मा नेपालबाट ४ अर्ब ५५ करोड रुपैयाँको अलैँची निर्यात भएको थियो।
पूर्वी पहाडी जिल्ला र अरु जिल्लामा समेत गरी देशभर करिब १६ हजार हेक्टर जग्गामा अलैँची खेती हुने गरेको छ। उक्त क्षेत्रफलबाट करिब ८ हजार ३ सय टन अलैँची उत्पादन हुन्छ। अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको मुख्य स्रोत हो। अलैँची व्यवसायी महासंघका अनुसार देशका तीन दर्जनभन्दा जिल्लामा अलैँची खेती विस्तार भएको छ।