Kathmandu Press

तिहारको अवसर पारेर छायांकनअघि नै ‘बलिदान’ को ट्रेलर सार्वजनिक

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’ का निर्माता तथा ‘प्रेम गीत ३’ का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन्।
तिहारको अवसर पारेर छायांकनअघि नै ‘बलिदान’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, कात्तिक २६ : छायाङ्कनमा जानु अगावै चलचित्र ‘बलिदान’ को टिजर रिलिज भएको छ। नेपाली चलचित्रको इतिहासमा सम्भवतः पहिलो पटक प्रि–प्रडक्शनमा रहँदा नै यसरी टिजर रिलिज भएको हो।

आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यस मेघा प्रोजेक्टलाई चलचित्र सिरिज ‘प्रेम गीत’ का निर्माता तथा ‘प्रेम गीत ३’ का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन्। टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिङ’ भनेका छन्। टिजर रिलिज गरिए पनि चलचित्रका कलाकार तथा प्राविधिकको विषयलाई भने खुलाइएको छैन। दोस्रो चरणमा कलाकार र अन्य प्राविधिकबारे खुलाइने निर्देशक सेनले बताए।

Hardik ivf

सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युगजनित विसङ्गति र विकृतिलाई छिचोल्दै विस्तारित आयाममा बन्ने एक्सन प्रधान चलचित्र हुनेछ भन्ने अनुमान गर्न मुस्किल पर्दैन। एक मिनेट १४ सेकेन्ड लामो दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ। 

देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र रहने निर्देशक सेनले बताए। ‘समाजमा खुम्चिएका र राज्यबाट किनारा पारिएका वर्गले अधिकारको लडाइँ गर्दा देशी विदेशी कुटिलहरू प्रवेश गरेर कसरी समाज च्यातच्युत पार्छन् भन्ने कुरा बलिदानमा चित्रण गर्दैछौँ। अति भएपछि देशको अस्मिता जोगाउन युगले एक असली युग पुरुष कसरी जन्माउँछ भन्ने विषयवस्तुमा हामीले चलचित्र बनाउने छौँ। त्यसकै आधारमा टिजर तयार पारी सार्वजनिक गरेका हौँ’, सेनले भने।

यो चलचित्रलाई ‘एक सार्वभौम महाकथा’ भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए। आसुसेन प्रा. लि. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्रबहादुर चन्द, प्रेम पुरी लगायत छन्। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवं साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’ का रूपमा मनोज पण्डित छन्।

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, कात्तिक २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्