एमालेमाथि चौतर्फी हमला भइरहेको छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
शनिबार पार्टीको रसुवा–काठमाडौं सम्पर्क मञ्चको देउसी भैलो तथा बृहत् साँस्कृतिक कार्यक्रममा बोल्दै उनले चौतर्फी हमला भइरहे पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको दाबी गरे।-1699694992.jpg)
काठमाडौं, कात्तिक २५ : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमालेमाथि चौतर्फी ढङ्गले हमला भइरहेको बताएका छन्।
शनिबार पार्टीको रसुवा–काठमाडौं सम्पर्क मञ्चको देउसी भैलो तथा बृहत् साँस्कृतिक कार्यक्रममा बोल्दै उनले चौतर्फी हमला भइरहे पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको दाबी गरे।
उनले भने, ‘अहिले चौतर्फी ढङ्गले एमालेमाथि हमला गरिँदै छ। त्यसको बावजुल पनि एमाले एक्लै पहिलो शक्ति बन्न सकेको छ। एमालेलाई पराजित गर्न जुन ढङ्गले हमला गरिँदै छ गत निर्वाचनमा त्यसलाई पराजित गर्दै लोकप्रिय मत प्राप्त गर्ने पार्टी बन्यो।’
उनले अहिले नयाँ र पुरानो पार्टी भन्ने फेसन चलेको भन्दै एमाले पुरानो पार्टी नभई पार्टी गतिमा चलेको, गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने संगठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी भएको तर्क गरे। पुरानो पार्टी भनेर आरोप लगाउनेलाई उनले आफूहरुको गौरवपूर्ण इतिहास छ कि छैन भन्दै प्रश्न गरे।
उनले भने, ‘अहिले एउटा फेसन चलेको छ पुरानो पार्टी भन्ने। एमाले पुरानो पार्टी होइन, गतिमा चलेको गौरवपूर्ण इतिहास बोकेको, भोलिको मार्गचित्र बनाउने संगठनात्मक संरचना र ठोस नीति बोकेको पार्टी हो। हामीलाई आरोप लगाउनेसँग सोध्न सक्छौं– तिम्रो गौरवपूर्ण इतिहास छ कि छैन?’
उनले एमाले मजबुत सुदृढ नहुने हो भने राष्ट्रिय शक्ति कमजोर भई देशको अस्तित्व खतरामा पर्ने दाबी गरे। यसैगरी, चाडपर्वको रमाइलो गरिरहँदा यसका धार्मिक, सांस्कृतिक प्रङ्ग सँगसगै सामाजिक सद्भाव अभिवृद्धि गर्ने मूल मर्ममा सबैको ध्यान जान आवश्यक रहेको उनले बताए।











