भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखद्वारा राष्ट्रपति पौडेललाई सन्देश
जर्मनीका राष्ट्रपति फ्रैंक वाल्टर स्टेनमेय, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेंडर भ्यान डेर बेलेन, निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगा सावेद्रा, कतारका अमिरशेख तमिम बिन हमाद अलथानी र स्पेनका पेड्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देश पठाएका हुन्।
काठमाडौं, कात्तिक २५ : राष्ट्रपति रामचन्द्र पौडेललाई भूकम्पमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न देशका राष्ट्रप्रमुखहरुले समवेदना सन्देश पठाएका छन्।
जर्मनीका राष्ट्रपति फ्रैंक वाल्टर स्टेनमेय, चेक गणतन्त्रका राष्ट्रपति पिटर पावेल, अष्ट्रियाका राष्ट्रपति अलेक्जेंडर भ्यान डेर बेलेन, निकारागुआका राष्ट्रपति डेनियल ओर्टेगा सावेद्रा, कतारका अमिरशेख तमिम बिन हमाद अलथानी र स्पेनका पेड्रो सान्चेजले बेग्लाबेग्लै समवेदना सन्देश पठाएका हुन्।
उनीहरुले भूकम्पमा ज्यान गुमाएकाहरुका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।यसका साथै सन्देशमा प्राकृतिक विपत्तिको यस घडीमा आफ्नो देश, जनता र सरकारको तर्फबाट सहानुभूति प्रकट गर्दैै राहत तथा पुनस्थापनाको काममा सहयोगका लागि सदैव तयार रहेको उल्लेख गरिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेललाई चीनका राष्ट्रपति सी चिनफीङ, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन र बेलायतका राजा चाल्र्सलेले पनि समवेदना सन्देश पठाएका थिए।