गठबन्धनले देश बनाउने होइन बिगार्ने काम गरेको छ : नेता बास्कोटा
उनले नयाँ पार्टी भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको भन्दै नयाँ भन्नेहरुलाई पुनर्निर्माणको ठेक्का चाहिएको टिप्पणी गरे।
काठमाडौं, कात्तिक २४ : नेकपा एमालेका नेता गोकुल बास्कोटाले गठबन्धनले देश बनाउने भन्दा बिगार्ने काम गरेको आरोप लगाएका छन्।
शुक्रबार एमाले चौरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
दृष्टिकोण सहितको राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्ने गठबन्धन नभई एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउने गठबन्धन भएको भन्दै देश बनाउने होइन देश बिगार्ने काम गरेको नेता बास्कोटाले बताए।
‘यो देश बनाउने गठबन्धन होइन। देश बिगार्ने गठबन्धन हो। दृष्टिकोण सहितको राजनीतिक स्थिरता र निर्माणको अभियान सञ्चालन गर्ने गठबन्धन होइन,’ उनले भने, ‘एउटा प्रदेशमा १७ जना मन्त्री जन्माउने गठबन्धन हो। प्रदेशमा गठबन्धन गर्ने सरकार दिनदिनै मुख्यमन्त्री जन्माउने गर्छ । प्रधानमन्त्री पनि काफी जन्माउँछ । अब अर्कोले मेरो पालो आयो भन्छ अनि सत्ता संकट बढ्छ। यो देश सम्हाल्ने तागत हामीसँग मात्रै छ।’
उनले नयाँ पार्टी भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीसँग केही नभएको भन्दै नयाँ भन्नेहरुलाई पुनर्निर्माणको ठेक्का चाहिएको टिप्पणी गरे।
‘नयाँसँग पनि केही छैन। देखिसक्या छ, थाहाभइसक्यो नि । पुनर्निर्माणको ठेक्का नयाँलाई चाहियो, कति नै इन्जिनियरिङ कला भएजस्तो । केही मतलबको कुरा छैन । देश निर्माणका लागि जनता सबैभन्दा महत्वपूर्ण हुन्,’ नेता बास्कोटाले भने ।
उनले चिहानमा पुगिसकेको राजतन्त्र ब्युँताउन असम्भव रहेको पनि बताए।











