भ्रष्टाचारी ठहर भएका शिक्षकलाई सुविधा दिलाएको आरोपमा मुद्दा

काठमाडौं, कात्तिक २४ : भ्रष्टाचारको आरोपमा दोषी ठहर भई बर्खास्तमा परेका शिक्षकलाई विभिन्न सुविधा र उपदान दिलाएको आरोपमा ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुविधा लिने कार्यमा संलग्न शिक्षक र सुविधा दिलाउने प्रधानाध्यापक एवम् शिक्षा कार्यालयका अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
२०७३ वैशाख ६ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका बाराका राम प्राविका शिक्षक योगेन्द्र प्रसाद यादवलाई सुविधा दिलाएको आरोप छ।
विशेष अदालतबाट भ्रष्टाचारमा कसुरदार भएको फाइल गायव पारी राजिनामा दिएर रकम लिएको आरोपमा जिल्ला शिक्षा कार्यालयका तत्कालिन विद्यालय निरीक्षक बृज किशोर यादव, नेपाल राष्ट्रिय प्राविका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद यादव र चेथारु प्रसाद कुर्मी, बाराका जिल्ला शिक्षा अधिकारी तुलाराम भण्डारी, क्षेत्रिय शिक्षा निर्देशनालयका कामू निर्देशक दिनेश कुमार श्रेष्ट र शाखा अधिकृत बेद प्रसाद पौडेलविरुद्ध भ्रष्टाचारको अभियोग लगाइएको हो।
शिक्षक यादवलाई १ लाख ५ हजार रुपैंया अतिरिक्त तलब दिलाएको र औषधी उपचार, बिरामी विदा, चाडपर्व खर्च समेत गरेर कुल १६ लाख ९२ हजार रुपैंया भुक्तानी गरेको आरोप उनीहरुमाथि लगाइएको छ।











