विद्युतीय सवारीको माध्यमले नेपाल ठूलो परिवर्तनतिर जाँदैछ : घिसिङ
घिसिङले प्रदेश सरकार र नेपाल सरकारलाई विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्ने भन्दै नीतिगत निर्णय गर्न आग्रह गरे।-1699535233.jpg)
काठमाडौं, कात्तिक २३ : नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीको माध्यमबाट नेपाल ठूलो परिवर्तनतर्फ लागेको बताएका छन्।
नेपालमा पहिलो विद्युतीय सवारी साधन राइड सेयरिङ एप शुभारम्भ कार्यक्रममा उनले विद्युतीय साधन पेट्रोलभन्दा २० गुना सस्तो पर्ने भन्दै अब बुझ्ने कसैले पनि पेट्रोल र डिजेलको सवारी नकिन्ने बताए।
‘विद्युत पेट्रोलभन्दा २० गुना सस्तो छ । एकदमै ठूलो परिवर्तन हुँदैछ नेपालमा, अब बुझ्ने कसैले पनि पेट्रोल र डिजेलको सवारी साधन किन्दैनन्,’ उनले भने, ‘नेपालमा करिब ४–५ खर्ब आयातलाई २० अर्बको विद्युतीय खपत गर्यो भने प्रतिस्थापन हुन्छ । ५ खर्बको डिजेल आयातलाई बन्द गर्ने र ५–७ खर्बको निर्यात गर्ने हो भने हामी सकारात्मक बाटोतर्फ जान्छौं। यो ठूलो परिवर्तन ऊर्जाबाट हुन्छ।’
घिसिङले प्रदेश सरकार र नेपाल सरकारलाई विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्ने भन्दै नीतिगत निर्णय गर्न आग्रह गरे।
‘प्रदेश सरकार र नेपाल सरकारलाई मेरो अनुरोध, विद्युतीय साधन अहिले ट्याक्सी चलिरहेको छ त्यसको मात्रै सहमति दिने जुन नीति लिइएको छ, त्यो गलत छ । जस्तो साधन आए पनि सहमति दिनुपर्छ,’ उनले भने, ‘विद्युतीय साधनलाई रुट परमिट खुल्ला गर्नुपर्छ । सरकारले नीतिगत निर्णय गर्नुपर्ने छ र यो होस् भन्ने मेरो आग्रह छ।’
हिजो लोडसेडिङ कम गर्ने प्रयासमा रहेको नेपाल आज विद्युत बढी भएको अवस्थामा हिजोको भन्दा उल्टो भएको भन्दै यो नेपालको लागि एकदमै ठूलो परिवर्तन र सम्भावना बोकेको ऊर्जा क्षेत्रको ठूलो उपलब्धि भएको उनको भनाई छ ।











