Kathmandu Press

प्रदेशको अधिकार संघीय सरकारले हडप्यो : मुख्यमन्त्री कार्की

सांसद गोम्बु शेर्पाले संविधानले दिएका अधिकारहरु कार्यान्वयन गर्न संघले तदारुकता नदेखाउँदा धेरै समस्या भइरहेको भन्दै राखेको जिज्ञासाको उत्तर दिंदै अधिकार हस्तान्तरणका लागि पहल गर्ने बताए।
प्रदेशको अधिकार संघीय सरकारले हडप्यो : मुख्यमन्त्री कार्की

मोरङ, कात्तिक २३ : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानले प्रदेशलाई दिएको एकल अधिकार सूचीका कामहरु संघीय सरकारले हडपेर राखिरहेको आरोप लगाएका छन्।

प्रदेशका अधिकार हस्तान्तरण गर्न माग गर्दै उनले हस्तान्तरण नभए मुख्यमन्त्रीकै हैसियतमा सिंहदरबारमा धर्ना दिने चेतावनी उनले दिए।

कोशी प्रदेशसभामा आज भएको मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो चेतावनी दिएका हुन्।

सांसद गोम्बु शेर्पाले संविधानले दिएका अधिकारहरु कार्यान्वयन गर्न संघले तदारुकता नदेखाउँदा धेरै समस्या भइरहेको भन्दै राखेको जिज्ञासाको उत्तर दिंदै अधिकार हस्तान्तरणका लागि पहल गर्ने बताए।

संघीय सरकारले कब्जा गरेर राखेका अधिकारलाई प्रदेशमा ल्याउन धर्ना दिने र सर्वोच्च अदालतमा मुद्दा हाल्ने समेत बताए । आफू जसरी हुन्छ प्रदेशको अधिकार छिटो ल्याउने अभियानमा लाग्ने उनले बताए।

एमालेका ३९ जना सांसदको सहयोगमा मुख्यमन्त्री नियुक्त भएको तर सरकारबाट एमालेलाई बाहिर किन निकालेको भन्ने प्रश्न सांसद बुद्धिकुमार राजभण्डारीले गरेका थिए।

जवाफमा मुख्यमन्त्री कार्कीले एमालेका सांसदहरुलाई ठाउँ खाली रहेको भन्दै दौरा सुरुवाल नसिलाएको भए सिलाएर बस्न सुझाव दिए। ‘नेकपा एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ। एमाले आफैं सत्ता पक्षको कुर्सीबाट प्रतिपक्षको कुर्सीमा गएर बसेको जगजाहेर छ,’ उनले भने, ‘आवेगमा आएर नछुट्टिएको भए हुन्थ्यो, मैले नेकपा एमालेको मन्त्रीलाई निकालेको होइन। एमालेसँगको सहकार्यलाई छोडेको पनि छैन।’

आफूले सहमति र सहकार्यको सर्वदलीय सरकार बनाउने प्रयास गरेको उनले बताए।

 

प्रकाशित मिति: १६:५६ बजे, बिहीबार, कात्तिक २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्