भरतपुर महानगर र सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम
सम्झौतामा हस्ताक्षरपछि महानगर प्रमुख रेणु दाहालले खुसी व्यक्त गर्दै समझदारीले दुई देश र दुई शहरबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन्।
काठमाडौं, कात्तिक २२ : भरतपुर महानगरपालिका र चीनको सिगात्से शहरबीच भगिनी सम्बन्ध कायम गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आज संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल र सिगात्सेका मेयर वाड्ग फड्ग हुड्गले दुई पक्षीय सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। भगिनी सम्बन्ध कायम गरेसँगै दुई शहकाबीच कृषि, पर्यटन, अर्थ, संस्कृतिलगायत विभिन्न विषयमा आपसी सहयोग आदानप्रदान गर्ने सहमति भएको छ।
यस्तै, पारस्परिक सम्मान, आपसी राजनीतिक विश्वास, समानता र पारस्परिक सम्बध कायम राखी दुवै पक्षले मैत्रीपूर्ण रुपमा सहयोग आदानप्रदान गर्ने, साझा समृद्धि र विकासलाई प्रवर्द्धन गर्न दुवै पक्षले अर्थतन्त्र, संस्कृति, कृषि, पर्यटन, पशुपालनलगायत क्षेत्रमा सहयोग आदानप्रदान गर्ने उल्लेख छ।
सम्झौतामा हस्ताक्षरपछि महानगर प्रमुख रेणु दाहालले खुसी व्यक्त गर्दै समझदारीले दुई देश र दुई शहरबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताइन्। उनले भनिन्, ‘आज हामीबीच समझदारी भएको छ। यसले आगामी दिनमा दुई देश र शहरबीच बलियो सम्बन्ध र प्रगाढ सम्बन्ध बन्नेछ भन्ने विश्वास लिएका छौ।’ आजैदेखि लागू हुने समझदारी पत्रको समयावधि पाँच वर्षको छ।











