एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने, अभियान मंसिर १४ गतेबाट
अभियान मंसिर १४ गते बिहान साढे ८ बजे बैतडीको झुलाघाटबाट थालनी हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
काठमाडौं, कात्तिक २२ : नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने भएको छ।
बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको हो। अभियान बिहान साढे ८ बजे बैतडीको झुलाघाटबाट थालनी हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
‘देशलाई राम्रो बनाउँन सकिन्छ र बनाउने शक्ति यही छौं भन्ने शन्देश दिने हाम्रो अभियानको मुख्य उद्देश्य हो,’ उनले भने, ‘जनताका गुनासा,सुझाव सुन्दै र संवाद गर्दै सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिने गरी हामीले मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटमा अध्यक्षद्वारा सुरुवात गर्छौ।’
उपमहासचिव ज्ञवालीले मध्यपहाडी लोकमार्गमा पर्ने विभिन्न स्थानमा सभा, अन्र्तक्रिया र छलफल गर्ने, त्यहाँको चुनौतिको अध्ययन विमर्श लगायत विभिन्न कार्यक्रम गर्दै अभियान चिवाभञ्ज्याङमा पुर्याएर अन्त्य गर्ने बताए।
आफ्नो अभियान राजनीतिक भन्दा धेरै विकास निर्माण,सामाजिक एकताको सन्देश दिने सिङ्गो देशको अभियानको रुपमा अगाडि बढाउने ज्ञवालीले बताए।
‘सिंगो देशको अभियानको रूपमा विकास निर्माण र सामाजिक एकताको सन्देश दिने राष्ट्रिय अभियानको रूपमा यसलाई अघि सारेका छौं,’ उनले भने, ‘अभियानको नाम ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ राखिएको छ।’











