Kathmandu Press

आरती साहका परिवारले १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्य हो : सांसद साह

‘राज्यबाट जसरी बेवास्ता भएको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु । र आरती साहको परिवारको मागमा ऐक्यवद्धता जनाउन चाहन्छु।’
आरती साहका परिवारले १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्य हो : सांसद साह

काठमाडौं, कात्तिक २२ : आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले न्याय माग्दै धर्नामा बसेको आरती साहको परिवारको न्यायमा ऐक्यवद्धता जनाएका छन्।

बुधबार दिउँसो काठमाडौंको माइतीघरमा पुगेर धर्नामा सहभागी हुँदै अध्यक्ष साहले न्यायको लागि ऐक्यवद्धता जनाएका हुन्।

उनले राज्यबाट पीडितलाई न्याय दिलाउन बेवास्ता भएकोमा खेद प्रकट गर्दै काठमाडौं जस्तो केन्द्रमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय भएको बताए।

‘नेपालमा लोकतन्त्र छ, गणतन्त्र छ। यो युगमा १४६ दिनसम्म न्याय नपाउनु दुर्भाग्यको विषय हो,’ उनले भने, ‘राज्यबाट जसरी बेवास्ता भएको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु । र आरती साहको परिवारको मागमा ऐक्यवद्धता जनाउन चाहन्छु।’

उनले गाउँबाट न्याय माग्दै राजधानी आउँदा सरकार संवेदनाहीन बनेको भन्दै पीडितलाई चाँडो न्याय दिलाउन माग गरे।

जनकपुर उपमहानगरपालिका–९ थापा चोकका मोदीबाबु साहसँग विवाह गरेकी आरती गत जेठ ७ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । उनको दाइजोका कारण परिवारबाटै हत्या भएको माइती पक्षको दाबी छ।

 

प्रकाशित मिति: १६:३८ बजे, बुधबार, कात्तिक २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्