भूकम्प प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलब्ध गराउन महासंघले पहल गर्ने
बुधबार काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति बैठकले भूकम्पबाट प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलव्ध गराउन बैदेशिक शाखा र अन्य संस्थाहरुमार्फत पहल गर्ने निर्णय गरेको हो।
काठमाडौं, कात्तिक २२ : नेपाल पत्रकार महासंघले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलव्ध गराउन पहल गर्ने भएको छ।
बुधबार काठमाडौंमा बसेको महासंघको केन्द्रीय समिति बैठकले भूकम्पबाट प्रभावित सञ्चार संस्था र पत्रकारलाई राहत उपलब्ध गराउन बैदेशिक शाखा र अन्य संस्थाहरुमार्फत पहल गर्ने निर्णय गरेको हो। संकलित राहत महासंघको केन्द्रीय समितिका पदाधिकारी र प्रभावित पत्रकारको विवरणका आधारमा बितरण गरिने महासंघका महासचिव रोशन पुरीले जानकारी दिए।
उनले भूकम्पका कारण दुईवटा सञ्चार संस्थाको भवन पूर्णरुपमा क्षति भएको र महासंघका दुई जना केन्द्रीय सदस्यलगााएत दर्जनौ पत्रकारहरुले वास गुमाएको जानकारी दिए। त्यसैगरि महासंघको बैठकले महासंघलाई लाञ्छना लगाएर कान्तिपुर मिडिया ग्रुपले निकालेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघप्रति लगाएको आरोप पुष्टि गर्न चुनौती दिएको महासचिव पुरीले बताए।
महासंघले कान्तिपुर मिडिया ग्रुपका विभिन्न संचारमाध्यमले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार पत्रकार आचारसंहिता बिपरित भएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने र कान्तिपुर बिरुद्धको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको महासचिव पुरीले जानकारी दिए।











