जाजरकाेट पुगेर राष्ट्रपति पौडेलले भने- तपाईंहरूको समस्या समाधानका लागि म सँगै छु
राष्ट्रपति पौडेलले भुकम्प प्रभावितलाई तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षा याममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध गर्न ध्यानाकर्षण गराएका छन्।
जाजरकोट, कात्तिक २१ : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जाजरकोटका नागरिकको अवस्था बुझ्न प्रभावित क्षेत्रको अनुगमन गरेका छन्।
भूकम्प प्रभावितलाई भेटेर राष्ट्रपति पौडेलले लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूति दिलाउने गरी भूकम्प पीडित नागरिकलाई अल्पकालीन र दीर्घकालीन योजना बनाएर काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण समेत गराए।
राष्ट्रपति पौडेलले भुकम्प प्रभावितलाई तत्काल बसोबासको लागि पाल, स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षा याममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध गर्न ध्यानाकर्षण गराएका छन्। दीर्घकालीन रूपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्ने सुझाव समेत पौडेलले दिएका थिए ।
राष्ट्रपति पौडेलले भुकम्प प्रभावित वस्तीको अनुगमनकाक्रममा पीडितलाई भेटेर भने, ‘तपाईंहरूको समस्या समाधानका लागि म सँगै छु, चिन्ता नगर्नुस्।’
त्यसअघि राष्ट्रपति पौडेलले भूकम्पका घाइतेलाई भेट्न जाजरकोट अस्पताल पुगेका थिए। त्यहाँ उनले घाइतेको स्वास्थ्य अवस्था तथा उपचारको प्रबन्धबारे जानकारी लिएका थिए।
घाइतेसँगको भेटमा पीडितले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माणसहित बाँच्ने आधारको व्यवस्था गरिदिन आग्रह गरेका थिए। जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूका लागि आवश्यक बसोबास, खाद्यान्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने आस्वासन दिएका थिए।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।
राष्ट्रपति पौडेलका साथमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उर्जामन्त्री शक्ति बस्नेत, जाजरकोटका प्रदेश सांसद, प्रधानसेनापतिलगायत सहभागी छन्।











