धनुषाका एसपी खड्कालाई हेडक्वार्टर तानियो
प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई धनुषा प्रमुखबाट फिर्ता बोलाएको हो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा खड्कालाई फिर्ता बोलाइएको जनाइएको छ।
काठमाडौं, कात्तिक २१ : जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई जिम्मेबारीबाट हटाएर प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ।
प्रहरी प्रधान कार्यालयले एसपी खड्कालाई धनुषा प्रमुखबाट फिर्ता बोलाएको हो। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा खड्कालाई फिर्ता बोलाइएको जनाइएको छ।
धनुषाकी आरती साहको मृत्यु प्रकरणका कारण उनलाई काठमाडौं तानिएको हो । मृतक साहका आफन्तले माइतीघरमा आन्दोलन गरिरहेका छन्। पीडितको अडानकै कारण गृहमन्त्रालयले खड्कालाई जिम्मेवारीविहीन बनाउँदै फिर्ता गरेको हो।
साह गत जेठ ७ गते आफ्नै घरमा मृत भेटिएकी थिइन्। उक्त प्रकरणमा कमजोर अनुसन्धान गरी मुद्दा फितलो बनाएको बनाएको तथा लापरबाही गरेको भन्दै मृतक साहका परिवारले आन्दोलन गरिरहेका छन्।
घटनामा संलग्न रहेको आरोपमा कर्तव्य ज्यान मुद्दा चलाइएका आरतीका श्रीमान् मोतीबाबु साह र ससुरा मदन मोहनलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।