Kathmandu Press

पाटन अस्पतालका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन्।
पाटन अस्पतालका डाक्टर आन्दोलनमा, आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौं, कात्तिक २१ : ललितपुरमा रहेको पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन्।

अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै  चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन्।

पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुङ्गाकी ९६ वर्षकी जनमाया राईको मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु आक्रोशित भएका थिए। सो क्रममा आफुहरुमाथि कुटपिट भएको भन्दै चिकित्सकहरुले प्रदर्शन गरेका छन्। उनीहरुले स्वास्थ्यकर्मी विरुद्धका हिंसा बन्द गर प्लेकार्ड सहित प्रदर्शन गरेका छन्।

दुई बिरामीको एकै समयमा भएको मृत्युको घटनाको अनुसन्धान भइरहेको अवस्थामा आफुहरुमाथि कुटपिट भएकाले सुरक्षाको माग गर्दै प्रदर्शन गरिएको पाटन अस्पतालका चिकित्सक डा. विमल पाण्डेले बताए।

प्रदर्शनमा सहभागी चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा राजनीति बन्द गर, डाक्टर कुट्न पाइँदैन, डाक्टर कुटाई खादैछ, समाज कता जाँदैछ लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरुले कुटपिटका दोषीलाई कारबाही नभएसम्म नियमित सेवा दिन नसक्ने जनाएका छन्।

प्रकाशित मिति: १३:०७ बजे, मंगलबार, कात्तिक २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्