चिनी लुकाएको थाहा पाएर पनि सरकार मौन बसेको छ : रास्वपा सांसद अर्याल
उनले उपभोक्ता हित संरक्षणमा लागेका निकायदेखि आम जनता नै सचेत नभएसम्म चिनीलगायतको अभाव उस्तै रहने र उपभोग्य वस्तुको मूल्य वृद्धिको मारमा आम उपभोक्ता थिचिनुपर्ने बताए।
काठमाडौं, कात्तिक २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले बजारमा चिनी लुकाएर कालोबजारी गर्नेहरुबारे सरकारलाई स्पष्ट जानकारी हुँदा पनि उपभोक्ताप्रति इमान्दारीता नदेखाउँदा जनता मारमा परेको बताएका छन्।
सरकारले आफूसँग भएका संयन्त्र समेत परिचालन नगर्नाले उपभोक्ता महंगीको मारमा परेको उनको भनाई छ।
संसदीय समितिको बैठकमा सोमबार उनले सरकारलाई बजारमा चिनी अभाव सिर्जना गर्नेदेखि कालोबजारी गर्नेबारे स्पष्ट जानकारी भए पनि उनीहरुप्रतिको भाव र प्रभावका कारण जनताप्रति इमान्दारीता देखाउन नखोजेकाले आम उपभोक्ता चाडपर्वको बेला मारमा परेको बताए।
‘महँगाई छ, चिनी लुकाइएको छ । हामीलाई कहाँ लुकाइएको छ त्यो पनि थाहा नभएको होइन। त्यसमा अनुगमन गर्न सरकारले इमान्दारीता मात्रै नदेखाएको हो,’ उनले भने, ‘बजार अनुगमनका लागि मान्छे र स्रोतको कमी भएको होइन संयन्त्रको परिचालन मात्रै नभएको हो । सबैन्दा ठूलोकुरा सरकार र व्यवसायीको इमान्दारीताको कमी हो।’
उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्सदेखि सरकारमा बसेकाहरुकै नजिककाले मूल्य वृद्धि गरेको धारणा राखेका उनले सरकारले भएका संयन्त्र र स्रोत साधनलाई समेत मूल्यवृद्धि नियन्त्रण गर्नका परिचालन नगरेकोप्रति गुनासो गरे।
‘चिनी लुकाउनेलाई तपाईं–हामी धेरैले चिनिसकेका छौं, नामचाहिँ भन्दैनौ । दुर्गम जिल्लातिरत पालीका र वडामा नुनपनि पुग्दैन,’ उनले भने, ‘यी सबमा संलग्न ती मान्छेहरु जसलाई हामीले चिनेका छौ र सरकारकै मान्छेहरु पनि छन्। तिनलाई घचघचाउन पर्छ।’
उनले उपभोक्ता हित संरक्षणमा लागेका निकायदेखि आम जनता नै सचेत नभएसम्म चिनीलगायतको अभाव उस्तै रहने र उपभोग्य वस्तुको मूल्य वृद्धिको मारमा आम उपभोक्ता थिचिनुपर्ने बताए। सरकारले बजार अनुगमनको संयत्र र स्रोत साधनलाई समेत नचाहेरै परिचालन नगरेको उनले बताए ।
उनले संसदीय समितिले पनि बजार मूल्य नियन्त्रण र कालोबजारी रोक्न प्रभावकारी भूमिका निभाउन नसकेको स्वीकार गरे।











