राहतसामग्री वडामार्फत वितरण हुन्छ : रक्षामन्त्री खड्का
जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण पछि उनले पालिकालाई राहत सामग्री उपलब्ध गराईने र वडामार्फत वितरण गरिने बताए।
काठमाडौं, कात्तिक २० : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले, राहतवितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको बताएका छन्।
जाजरकोट सदरमुकाम खलङ्गालगायतका क्षेत्रमा पुगी स्थलगत निरीक्षण पछि उनले पालिकालाई राहत सामग्री उपलब्ध गराईने र वडामार्फत वितरण गरिने बताए।
उनले भने, 'सरकारले राहत वितरण सुरु गरिसकेको छ। राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण हुन्छ, यस घडीमा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नुपर्छ।' उनले उद्धार तथा राहत वितरणबारे जानकारी लिनुका साथै राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन्।
उनले भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटका स्थानीयसँग कुरा गर्दै उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने बताए। उनले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा रहेको तथ्याङ्क आफूले प्राप्त गरिसकेको भन्दै प्राथमिकताका साथ राहत वितरण हुनेमा विश्वास व्यक्त गरेको छन्।
केही राहत सामग्री आइसकेको र थप राहत सामग्री आउने क्रममा रहेको जानकारी दिदैँ उनले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा जोड दिएका छन्।











