पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट प्रकरणमा संघको विरोध

काठमाडौं, कात्तिक २० : पाटन अस्पतालका चिकित्सकहरूमाथि कुटपिट भएको बिषयमा नेपाल चिकित्सक संघले विरोध जनाएको छ।
ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि कात्तिक १८ गते बिरामीका आफन्तले कुटपिट गरेको संघले जनाएको छ। चिकित्सक संघका महासचिव डा.सञ्जिव तिवारीद्वारा सोमबार जारी विज्ञप्तिमा ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट, गालीगलौच र ज्यान मार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
उक्त घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको माग समेत गरिएको छ। पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण नगरकोटी र ओखलढुंगाकी ९६ वर्षीया जनमाया राईको मृत्यु भएको बिषयमा कुटपिट गरिएको थियो। बिरामीलाई सुईमार्फत औषधि दिएको केही समयभित्रै मृत्यु भएपछि अस्पतालमा तनावको रुप लिएको हो।
‘ज्येष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको कुटपिट, गालीगलौच र ज्यान मार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ,’ चिकित्सक संघका महासचिव डा.सञ्जिव तिवारीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दछौं।’
चिकित्सक संघले पाटन अस्पतालमा उपचार गराइरहेका बिरामीको मृत्युको कारण खुलाउन पनि विज्ञप्तिमार्फत आग्रह गरेको छ।











