Kathmandu Press

अहिलेकाे निर्वाचन प्रणाली खर्चिलो भएकाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण : नेत्री बलम्पाकी

सदनमा राजनीतिक दलको सिट सङ्ख्या र त्रिकोणात्मक शक्ति सन्तुलनले राजनीतिलाई सहज रूपमा अघि बढाउन चुनौती खडा गरेको जनाउँदै नेत्री बलम्पाकीले सरकार बचाउने र टिकिरहने मनस्थितिले भ्रष्टाचार, महँगी र अनियमितताका विषयमा तै चुप मै चुपको स्थिति बनेको विचार प्रकट गरिन्।
अहिलेकाे निर्वाचन प्रणाली खर्चिलो भएकाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण : नेत्री बलम्पाकी

काठमाडौं, कात्तिक २० : 'जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु।'
     
‘सांसदसँग रासस संवाद’मा एमाले नेत्री रणकुमारी बलम्पाकी मगर यसरी जनताका माग र आवश्यकता सम्बोधन नभएकामा असन्तुष्टि पोख्दै आफूहरूले कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै आएको बताउँछिन्। उनले सांसदको मुख्य काम अहिले करिब ४० कानुन तत्काल बनाउनैपर्ने रहेकामा किन ढिलासुस्ती भयो भन्ने बुझिनसक्नु रहेको प्रतिक्रिया दिए। उनले भनिन्, 'सदनमा यो मेरो पहिलो प्रवेश हो। यसबीचमा सदन  नियमित भएन। कानुन निर्माणमा तपाईंहरूले ध्यान दिनुभएन भन्ने जनताको आरोप छ, यस मामिलामा सरकार स्वयं तात्नुपर्ने हो, हामीले मात्र भनेर हुँदोरहेनछ।'

313078783_1552083711973015_3962633700526320732_n-1699254009.jpg
         
सदनमा राजनीतिक दलको सिट सङ्ख्या र त्रिकोणात्मक शक्ति सन्तुलनले राजनीतिलाई सहज रूपमा अघि बढाउन चुनौती खडा गरेको जनाउँदै नेत्री बलम्पाकीले सरकार बचाउने र टिकिरहने मनस्थितिले भ्रष्टाचार, महँगी र अनियमितताका विषयमा तै चुप मै चुपको स्थिति बनेको विचार प्रकट गरिन्। उनी भन्छिन्, 'कुटपिट, हत्या, अपहरणमा संलग्न व्यक्तिलाई सरकारले नै संरक्षण दिइरहेको घटना एकपछि अर्को गर्दै बाहिरिएको अवस्थाले समाज र जनतामा राजनीतिप्रति वितृष्णा र अविश्वास पैदा भएको छ।' 
    
धारा, पानी, बाटो, सडक, पोखरी, विद्यालय, स्वास्थ्यचौकीलगायत विकास निर्माणको काम स्थानीय र प्रदेश सरकारको जिम्मेवारीभित्रका विषय  भए पनि त्यसमा सांसद संलग्न हुने स्थिति राम्रो नभएको उनले प्रतिक्रिया दिइन्। 'एउटा विधायक हुनाका नाताले हाम्रो सर्वोच्च जिम्मेवारी कानुन निर्माण गर्नु नै हो,' उनी भन्छिन्।न्यूनतम उपस्थिति सङ्ख्या अपुग भई विधेयक ‘फेल’ हुने अवस्था आउन दिन नहुने पक्षलाई सांसद स्वयंले हेक्कामा राख्न जरुरी रहेको उनकाे भनाइ छ।

उनले ओखलढुंगामा जन्मेर सिन्धुलीलाई कर्मथलो बनाउँदै आएकी छिन्। उनीसँग २०४६ सालको आन्दोलनपछि अनेरास्ववियुको सदस्यता लिई पद्मकन्या कलेजका स्ववियु सचिव र काठमाडौं जिल्ला सचिव तथा पार्टी काठमाडौं र ओखलढुङ्गा सम्पर्क मञ्चका सदस्य भई काम गरेको अनुभव पनि छ।
      
‘भोट’ माग्ने बेला गरिएको वाचानुरूप मतदाताले कुवा, पँधेरो, धारा र पाइपका लागि अनुरोध गर्नुचाहिँ तिनको अधिकार भएको बताउँदै उनले भनिन्, 'आफूले मन्त्रालयका कोठाचोटा नधाएर हुन सक्छ, प्रस्ताव गरेका एउटै योजनामा पनि बजेटमा परेन।' 
    
आफूहरूले मत दिएर पठाएकाले जनप्रतिनिधिबाट यति काम होस् भन्ने जनतामा आशा हुनु स्वाभाविक रहेको बताउँदै सांसद बलम्पाकीले बजेट विनियोजनमा भएको विभेदप्रति सत्तापक्षका सांसदले नै सदनमा उभिएर मौन बसेको तथा विरोध गरेको घटनाले असन्तुष्टिलाई नै पुष्टि  गरेको जिकिर गरिन्।  

देश र दुनियाँको अध्ययन, तयारी, प्रस्तुति र जनतासँग भिजेर गरिएको कामले नै अवसर दिन्छ भन्ने मान्यतामा दृढ नेत्री बलम्पाकीले पार्टीमा महिला भएकै कारण विभेद भएको खासै घटना भने नरहेको प्रतिक्रिया दिइन्।

397441858_1783762712138446_2124410987264286245_n-1699254093.jpg

‘असल सांसद अभ्यास आवश्यक’

कतिपय विषयमा प्रखर रूपमा सदनमा कुरा राख्न दलभित्र प्रोत्साहन गरिएको घटना सुनाउँदै सांसद बलम्पाकीले असल र अब्बल सांसद (गुड पार्लियामेन्टरियन) को पहिचान बनाउन आफ्नो दल र नेतृत्वले विज्ञ उपलब्ध गराई आवश्यक राय, परामर्शसमेत उपलब्ध गराउँदैआएको जानकारी दिइन्। उनी भन्छिन्, 'दलबीच झगडा हुँदा देशको विकास पछि धकेलिन्छ। अरूलाई प्रेरणा दिलाउन र असल सांसदको भूमिका खेल्ने सिलसिलामा सदनमा मैले सधैँ सकारात्मक नै भएर विषयवस्तु राख्दैआएकी छु।'

आफू कानुनको विद्यार्थी र अनुभवी नभएकाले गैरसरकारी विधेयकबारे आवश्यक जानकारी नभएको स्वीकार्दै उनले सदनमा ल्याइएको विधेयकमा कसरी संशोधन राख्ने र प्रस्तुत हुने भन्ने विषय मात्र आफूले सिकिरहेको नै स्पष्ट गरिन्। उनले भनिन्, 'एउटा सांसदले जनताले किन पठाएका हुन्, जिम्मेवारी र कर्तव्य के हो, कुन कुरा बोल्न हुन्छ वा हुँदैन भनेर बुझ्न आवश्यक छ, गैरजिम्मेवारी र फितलो प्रस्तुति गर्न हुन्न, यसतर्फ चेत र चेतना बढाउनुर्छ।'
    
एक प्रसंगमा एमाले केन्द्रीय अनुशासन आयोग सदस्यसमेत रहेकी उनले भनिन्, 'कतिपयले सोचेको हुनुपर्छ अर्को पटक माननीय वा यो पदमा आइन्न, मौका यही हो। भ्रष्टाचारमा संलग्नलाई दह्रो कारबाही भए फेरि त्यसाे गर्न डराउँथे।' ललिता निवास, सुन तस्करी र नक्कली भुटानी शरणार्थी काण्डमा संलग्नलाई कारबाही गरिएको भए राजनीतिक नेतृत्वप्रति विश्वास जाग्ने थियो तर घटनाको फितलो अनुसन्धानले  जनतामा भरोसा कमजोर बनेकाे प्रतिक्रिया उनले दिइन्।
     
हाल अभ्यासमा रहेको निर्वाचन प्रणाली खर्चिलो भएकाले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा चुनौती खडा गरेको बताउँदै सांसद बलम्पाकीले चुनावका बेला गरिएको लाखौँ–करोडौँ खर्च उठाउने प्रवृत्तिले भ्रष्टाचार मौलाइरहेको विचार प्रकट गरिन्। निर्वाचन प्रणालीमा सुधार गरी सबै समानुपातिक गरिएमा कम खर्चिलो होला कि भन्ने आफूलाई लागेको बताउँदै उनले नभए आमसभा, घरदैलोजस्ता खर्चिलो र विकृतिजन्य कार्यलाई रोकेर सामाजिक सञ्जालबाट मात्र प्रचार–प्रसारमा सीमित तुल्याउनुपर्नेमा उनले जाेड दिइन्।

395779542_1779911422523575_4576236261742317699_n-1699254009.jpg
     
रु १० लाखको योजना अघि बढाइँदा भ्रष्टाचारकै कारण रु दुई लाख पनि खर्च नहुने गरेको उदाहरण प्रस्तुत गर्दै उनले जनतामा पनि स्वच्छ, योग्य र निष्ठालाई भन्दा ‘हाइफाइ’ र तडकभडक गर्नेलाई रोज्ने गलत प्रवृत्ति देखिएकाले त्यसलाई सच्याउनुपर्ने धारणा राखे।

मुलुकको शिक्षा पद्धति सीपमूलक र व्यावसायिकमूलक नहुँदा युवा–विद्यार्थी विदेशिन बाध्य भएको घटना सुनाउँदै नेत्री मगरले शिक्षकले पनि विद्यार्थीलाई स्वदेशमा रहनभन्दा विदेश जानै प्रेरित गरेकाले पनि समस्या भयावह बनिरहेको प्रतिक्रिया दिइन्। सामूहिक खेती, बस्तुभाउ पालन, कृषि प्रवर्धनका लागि आवश्यक सिँचाइ व्यवस्था नगरिँदा गाउँबस्ती उजाड भएको बताउँदै उनले यस अवस्थामा तत्काल सुधार नगरिए केही वर्षभित्रै स्वदेशमा युवा पङ्क्ति नभेटिने कुरातर्फ ध्यानाकर्षण गराइन्। (रासस)

प्रकाशित मिति: १२:४७ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्