Kathmandu Press

जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका

जाजरकोट भूकम्पका मृतकमध्ये ७८ बालबालिका

भेरीगंगा (सुर्खेत), कात्तिक २० : जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ। प्रहरीले उपलब्ध गराएको तथ्यांकअनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १ सय ५७ मध्ये ७८ बालबालिका छन्। 

जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जना बालबालिकाको भूकम्पमा परी मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए। उनका अनुसार दुवै जिल्लामा गरी मृत्यु हुने झण्डै आधा बालबालिका छन्। जाजरकोटमा मृत्यु भएका १०५ जनामध्ये बालक २७  र बालिका २३ जना रहेका रोकाले बताए। 

रुकुम पश्चिममा भूकम्पमा परी ५२ जनाको मृत्यु भएकामा २८ बालबालिकाले रहेका जिल्ला प्रहरी प्रमुख नमराज भट्टराइले जानकारी दिए। उनले भने, 'रुकुम पश्चिममा भूकम्पमा मृत्यु भएकामध्ये अधिकांश बालबालिका छन्। दुईजना १० महिनाका बालबालिकालेसमेत ज्यान गुमाएका छन्।' 

मृत्यु हुनेमा महिला धेरै 

भूकम्पमा परी मृत्यु हुनेमा बालबालिकापछि महिला धेरै रहेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जाजरकोटमा मृत्यु भएकामा ३३ महिला र १८ जना पुरुषको रहेको जाजरकोटका प्रनाउ रोकाले जानकारी दिए। रुकुम पश्चिममा १६ महिला र ८ पुरुषको मृत्यु भएको छ। 

बेलाबेलामा हुने यस्ता विपदमार महिला बालबालिका र ज्येष्ठ नागरिकसँगै अपांगता भएका व्यक्ति धेरै समस्यामा पर्ने गरेका छन्।

प्रकाशित मिति: ११:५८ बजे, सोमबार, कात्तिक २०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्