विदेश पठाउन नक्कली कागजात बनाउने गिरोह नियन्त्रणमा

काठमाडौं, कात्तिक १९ : भिजिट भिसामा विदेश पठाइदिने नाममा नक्कली कागजात बनाउने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अवैध कार्यमा संलग्नताको आरोपमा नौ जनालाई आइतबार सार्वजनिक गरेको छ। स्वयम्भू र टोखामो छापा मारेर प्रहरीले थुप्रै सरकारी नक्कली कागजात समेत बरामद गरेको छ। सार्वजनिक गरिनेमा नवलपुरका जयराम श्रेष्ठ, गोरखाका भक्तबहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रेका जीवराज तामाङ, काठमाडौंका साइरस विसंखे, दीपक केसी र सल्यानका बलबहादुर रावत छन्।
अनुसन्धान गर्ने क्रममा भिजिट भिसामा विभिन्न मुलुक जाने तयारीमा रहेका दुई सय ९६ जनाको कागजात नक्कली फेला परेको प्रहरीले जनाएको छ। राहदानी सक्कली भए पनि प्रहरी चारित्रिक प्रमाणपत्र, प्लस टुको प्रमाण पत्र, श्रम स्वीकृति लगायतका नक्कली कागजातहरू फेला परेका छन्। भिजिट भिसामा रूस जान लागेका सुशील भण्डारी भूपू नेपाली सैनिक रहेको जनाइएको छ। भण्डारीबाट पनि प्रहरीले नक्कली कागजात फेला पारेको छ।
काठमाडौंका दुई ठाउँमा फ्लाट नै भाडामा लिएर नक्कली कागजात बनाउने गरेको प्रहरीले जनाएको छ। गिरोहसँग सेटिङको आशंकामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै कार्यरत प्रहरी जवान जीवराज तामाङसमेत पक्राउ परेका छन्। प्रहरीले उक्त धन्दामा संलग्न अन्य व्यक्तिको पनि खोजी गरिरहेको छ।











