सरकारले जाजरकोट भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।
काठमाडौं, कात्तिक १९ : सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएका स्थानीय जनताको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए।
‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ, जति महँगो उपचार गर्न पर्ने भयो भने पनि सबैको उपचार निःशुल्क हुन्छ,’ उनले भने।
बैठकमा उनले भूकम्पका घाइतेहरुको निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव राखेको बताए।
भूकम्प पीडितहरुको उद्धारको काम हिजै सकिइसकेकोले अब घाइतेको उपचार, राहत र पुर्नस्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय आजको बैठकले गरेको छ । आजदेखि पीडित र प्रभावितका लागि खाद्यान्न र पुर्नवासको अस्थायी व्यवस्था गर्न सरकार लाग्ने बस्नेतले बताए।
‘खाद्यान्न वितरण आजदेखि हुँदैछ । कुनै पनि काम कम नहुने गरी सरकारले गर्ने छ,’ मन्त्री बस्नेतले भने ।
२०७२ सालको भूकम्पको समय राहत र पुर्नबासमा सरकारले गरेका त्रुटिलाई दोहोरिन नदिनेगरी जाजरकोट भ्रकम्प प्रभावितका लागि काम गर्ने उनको भनाइ छ ।











