भूकम्प प्रभावित क्षेत्रमा सरकारले सक्ने जति गरेको छ : प्रधानमन्त्री
शनिबार उद्धार र उपचारको काम भइरहेको भन्दै प्रधानमन्त्री दाहालले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकबाट थप राहतका बारेमा निर्णय गर्ने बताए।
काठमाडौं, कात्तिक १८ : रधानमन्त्री पुष्पकमल दाहालले विपद्का लागि सरकारले गर्नुपर्ने दायित्व गम्भीर भएर पूरा गरिरहेको बताएका छन्।
भूकम्प प्रभावित क्षेत्रको स्थलगत निरीक्षणपछि काठमाडौं फर्किनेक्रममा प्रधानमन्त्री दाहालले अझै पनि जोखिम नटरेको र पूर्वसतर्कतासहित जोखिम न्यूनीकरणका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए।
शनिबार उद्धार र उपचारको काम भइरहेको भन्दै प्रधानमन्त्री दाहालले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकबाट थप राहतका बारेमा निर्णय गर्ने बताए।
‘आज म गएर भूकम्पबाट मुख्य प्रभावित जिल्लाहरुमा प्रत्यक्ष अवलोकन गरेँ। हताहत र घाइतेको संख्या ठूलो छ भने हजारौँ घरमा क्षति हुन पुगेको छ । डाक्टरहरू तथा स्वास्थ्य सामग्रीहरूसँगै लिएर गएको थिएँ,’ उनले भने, ‘प्रत्यक्ष रुपमा केही घाइतेहरूलाई आफैँले हेलिकप्टरबाट उद्धार गरेर ल्याएँ। आज जे गर्नुपर्ने थियो, राज्य र सरकारको तर्फबाट गरिएको छ । भोलि मन्त्रिपरिषद् बैठक बोलाएको छु । बैठकबाट थप राहतकाबारे निर्णय हुनेछ।’
उनले जाजरकोट भूकम्पबाट पीडितहरूको राहतका लागि देशभरि र विदेशबाट समेत सहानूभुति र स्वस्फूर्तरुपमा राहतका लागि समेत वचनबद्धता आइरहेकोप्रति खुसी प्रकट गर्दै संकटको घडीमा सरकारलाई सबैको साथ आवश्यक हुने बताए ।











