कांग्रेसको तिहार अघिका सबै कार्यक्रम स्थगन
शनिबार कांग्रसले विज्ञप्ति जारी गर्दै जाजरकोट र रूकुम (पश्चिम) लगायत क्षेत्रमा आएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्न आवश्यक रहेको भन्दै कार्यक्रमहरु स्थगन गरेको जानकारी दिएको हो।
काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसले तिहार अघिका पूर्व निर्धारित सार्वजनिक कार्यक्रमहरु स्थगन गरेको छ।
शनिबार कांग्रसले विज्ञप्ति जारी गर्दै जाजरकोट र रूकुम (पश्चिम) लगायत क्षेत्रमा आएको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा पार्टीको सम्पूर्ण ध्यान केन्द्रीत गर्न आवश्यक रहेको भन्दै कार्यक्रमहरु स्थगन गरेको जानकारी दिएको हो।
‘पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ। यो निर्णयलाई आ–आफ्नो तहमाकार्यान्वयन गर्नु, गराउनु हुन नेपालीकांग्रेस निर्देश गर्दछ’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले जाजरकोट र रूकुम (पश्चिम) लगायतका क्षेत्रमा आएको विनाशकारी भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षतिको घटनाले सम्पूर्ण नेपालीलाई शोक विह्वल र स्तब्ध बनाएको भन्दै स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको छ।
पार्टीको सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको भए पनि महासमिति सदस्य चयन गर्ने आन्तरिक कार्यक्रम भने नरोकिने विज्ञप्तिमा जनाइएको छ।