भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन विप्लवकाे आग्रह

काठमाडौं, कात्तिक १८ : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको छ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्दै भूकम्पपीडितको उद्धार, उपचार र राहतका कार्यलाई तीव्रता दिन आग्रह गरेको हो । त्यस्तै नेकपाले छिटो भन्दा छिटो राहत प्याकेज घोषणा गर्न सरकारसंग माग गरेको छ।
पत्रकार सम्मेलनमा नेकपा महासचिव विप्लवले भूकम्पपछि सरकारले गरेको राहतका कामहरु सन्तोषजनक भएपनि यसलाई तीव्रता दिनुपर्ने र संस्थागत रुपमा नै राज्यले छिटो भन्दा छिटो राहत प्याकेज घोषणा गर्नुपर्ने बताए।
उनले भूकम्पपछि उद्धार र राहतमा जुट्न पार्टीसम्बद्ध मोर्चाहरुलाई निर्देशन दिएको जानकारी दिए। त्यस्तै पार्टी कोषबाट राज्यको राहत कोषमा १ लाख जम्मा गर्ने, पार्टीको खाद्य भण्डारबाट १ सय प्याक चामल उपलव्ध गराउने विप्लवले जानकारी दिए। त्यस्तै भूकम्प पिडितका लागि देशको राजधानी लगाएत सवै जिल्लामा राजतका लागि लत्ता कपडा टेन्ट औषधी रकम संकलन गर्ने उनले जानकारी दिए।
त्यस्तै नेकपाले पार्टीले राहत कोषका लागि आधिकारीक खाता खोलेर सिधै जम्मा हुने व्यवस्था मिलाउने, बिभिन्न अस्पतालमा उपचारमा रहेका घाइतेहरुका लागि आवश्यक सेवा गर्न सहायता डेक्स राख्ने व्यवस्था गर्ने जनाएको छ ।











