Kathmandu Press

भूकम्पपीडितलाई भेटेर प्रधानमन्त्रीले भने- सरकार तपाईंहरुको साथमा छ

भूकम्पपीडितलाई भेटेर प्रधानमन्त्रीले भने- सरकार तपाईंहरुको साथमा छ

रुकुम पश्चिम, कात्तिक १८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पश्चिममा पुगी भूकम्पमा परी घाइते भएकासँग भेट गरेका छन्।

भूकम्प प्रभावित क्षेत्र अनुगमनका लागि आज विहान जाजरकोट र रुकुम पश्चिम आइपुगेका प्रधानमन्त्री दाहालले सोही क्रममा रुकुम पश्चिमको विभिन्न अस्पतालमा रहेका घाइतेलाई भेटेका हुन्। 

बिहान जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहाल खलङ्गामा रहेको जिल्ला अस्पतालमा घाइतेलाई भेट गरेपछि रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको मिसन अस्पतालमा पुगेका थिए। 

उनले जाजरकोटबाट केही घाइतेलाई आफू चढेको हेलिकोप्टरमा उद्धार गरेर चौरजहारीसम्म पुर्‍याएका थिए। चौरजहारीबाट ती घाइतेलाई सुर्खेत अस्पताल लगिएको छ। चौरजहारी अस्पतालमा घाइतेलाई भेट गर्नुभएका प्रधानमन्त्री दहाल सानीभेरी गाउँपालिकामा रहेको पालिका अस्पताल छोटेबगर, जिल्ला अस्पताल सल्ले र आठबिसकोट नगर अस्पतालमा पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। 

प्रधानमन्त्री दाहालले घाइतेको उपचारमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। रुकुमपश्चिम र जाजरकोटले ठूलो विपत्ति भोग्नुपरेको भन्दै नआत्तिन आग्रह गरे। 'भूकम्पका कारण भएको क्षतिप्रति हामी दुःखी छौँ। सरकारले तपाईंहरुका लागि उद्धार, राहत र अन्य विभिन्न कार्यक्रम गर्नेछ। तपाईंहरु नआत्तिनुहोला,' प्रधानमन्त्री दाहालले भने। 
    
साथै उनले सरकार भूकम्पपीडितको साथमा रहेको बताउनुभयो। भूकम्प गएको थाहा पाउनेबित्तिकै उद्धारको काममा कुनै कसर बाँकी नराख्ने योजनाका साथ सरकार लागिपरेको उनको भनाइ थियो। भूकम्पपीडितलाई भेट्न वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा पनि प्रधानमन्त्रीसँगै यहाँ आइपुगेका थिए। प्रधानमन्त्री दाहाल आज बिहान स्वास्थ्यकर्मीको टोलीसहित प्रभावित ठाउँमा आइपुगेका हुन्।

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, कात्तिक १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्