पीडितको उद्धार, राहत र शीघ्र उपचारका लागि राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई आग्रह

काठमाडौँ, कात्तिक १८ : राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापनलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भूकम्पबाट भएको धनजनको क्षतिका बारेमा जानकारी लिँदै उद्धार, राहत तथा तथा घाइतेको शीघ्र उपचारको प्रबन्ध मिलाउन आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले विपत्तिमा आवश्यक पर्ने सबै प्रकारको व्यवस्थापनका लागि पनि आग्रह गरेका छन्। उनले यसअघि भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू मर्माहत भएको जनाउँदै विपद्को घडीमा मानवीय भावले उद्धार, राहत घाइतेको उपचारमा जुट्न सरकार तथा सबै राजनीतिक, दल, जनप्रतिनिधि र आमनागरिकलाई अपिल गरेका थिए।
जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठूलो क्षति पुगेको छ। हालसम्म जाजरकोट र रुकुमपश्चिममा जिल्लामा गरी कम्तीमा एक सय ३६ जनाको मृत्यु भएको र सयौँ घाइते भएका छन्।











