कोशी प्रदेश सरकारबाट बाहिरियो एमाले
-1699082709.jpg)
विराटनगर, कात्तिक १८ : कोसी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट सहभागी भएका मन्त्री राम रानाले शनिबार आफ्नो पदबाट राजीनामा दिएसँगै एमाले सरकारबाट बाहिरिएको हो।
गठबन्धनमा आबद्ध माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराइएपछि असन्तुष्ट बनेको एमालेले सरकार छाडेको हो। मन्त्री रानाले मुख्यमन्त्री केदार कार्कीको निवास पुगेर राजीनामा बुझाएका हुन्। उनी बिनाविभागीय मन्त्रीका रुपमा थिए।
मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एकएकजना मन्त्री नियुक्त गरेका थिए। आफूसँग कुनै सहमति र सल्लाह नगरी ती पार्टीलाई सरकारमा सहभागी गराएको भन्दै एमाले असन्तुष्ट बनेको थियो।
गत असोज २७ गते एमालेसहितको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। त्यसै दिन उनले एमालेका एक र कांग्रेसका एकजनालाई मन्त्री नियुक्त गरेका थिए।











