कोशी मन्त्रिपरिषद् विस्तारमा एमाले असन्तुष्ट, सरकार छाड्ने तयारी
एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे भोलि शनिबार बैठक बसेर छलफल गरिने बताए।
मोरङ, कात्तिक १८ : कोशी मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट बनेको नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ।
मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले आफूसँग सहमति नगरेको भन्दै एमालेले सरकार छाड्ने भएको हो।
कोशी सरकारमा एमालेका राम राना बिना विभागीय मन्त्री छन्। असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले त्यसबेला एमालेका राना र कांग्रेसका शमशेर राईलाई मन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादीबाट मोरङका गणेश उप्रेती र एकीकृत समाजवादीबाट पाँचथरका कमल जबेगुलाई मन्त्री नियुक्त गरेका थिए।
एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्कीले गरेको सरकार विस्तारबारे भोलि शनिबार बैठक बसेर छलफल गरिने बताए। बैठकपछि सरकारबाट बाहिरिने विषयमा औपचारिक निर्णय गरिने उनले जनाए।
एमालेले माओवादी, एकीकृत समाजवादीलगायत गठबन्धनका दललाई सरकारमा सहभागी गराए सरकारबाट बाहिरिने बताउँदै आएको थियो। माओवादीले भने एमालेले सरकार छाड्नुपर्ने बताउँदै आएको छ ।
एमालेको समेत समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका थिए।











