जाजरकाेट भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १२८ पुग्यो, जाजरकोटमा ९२ जनाको मृत्यु
प्रहरीका अनुसार भूकम्पमा पारी जाजरकोट र रुकुमपश्चिममा गरी कुल १२८ जनाको मृत्यु भएको छ। जसमा जाजरकाेटमा ९२ र रूकुम पश्चिममा ३६ जनाकाे मृत्यु भएकाे छ।
रुकुम पश्चिम, कात्तिक १८ : जाजरकोटको बारेकोट केन्द्रविन्द्र भएर शुक्रबार राति पौने १२ बजे गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सयभन्दा बढी पुगेकोछ।
प्रहरीका अनुसार भूकम्पमा पारी जाजरकोट र रुकुमपश्चिममा गरी कुल १२८ जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। ज्यान गुमाउनेहरूमा भेरी नगरपालिकाका, नलगाड नगरपालिकाका, कुशे गउँपालिका र छेडागाड नगरपालिकाका छन्। अहिलेसम्म भूकम्पमा परी जाजरकोटमा कम्तीमा ५५ जना घाइते भएको जनाइएको छ।
घाइतेहरूको प्रादेशिक अस्पताल सुर्खेत, जिल्ला अस्पताल र अन्य स्थानीय स्वस्थ्य संस्थामा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार रुकुम पश्चिममा अहिलेसम्म ३६ जनाको मृत्यु भएको छ। आठबीसकोट नगरपालिकामा ३६ जना र सानीभेरी गाउँपालिकामा ८ जनाको ज्यान गएको बताइएको छ।
रुकुम पश्चिममा भूकम्पमा परी ८५ जना घाइते भएका छन्।केही घाइते गम्भीर भएकाले हेलिकप्टरमार्फत उद्धार गर्ने तयारी भइरहेको छ भने बाँकी घाइतेको उपचार जिल्ला अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको बताइएको छ।











