‘उपहार’को गीत ‘वाह वाह वाह’ सार्वजनिक

काठमाडौं, कात्तिक १७ : कलाकार रेखा थापाको चलचित्र ‘उपहार’को गीत सार्वजनिक भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको सो चलचित्रको ‘वाह वाह वाह’ बोलेको एउटा शुक्रबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो।
शंकर अधिकारी घायलले, लेखेको सो गीतमा बाबुल गिरी र एलिना चौहानको आवाज सुन्न सकिन्छ भने बाबुल गिरीले नै संगीत गरेका हुन्।
कविराज गहतराजले नृत्य निर्देशन गरेको सो गीतको छाँयाङ्कन विष्णु कल्पितले गरेका हुन्।
गीत सार्वजनिक कार्यक्रममा निर्देशक देउजाले, फिल्म झिङगेदाउको सफलतापछि उपहारमा झन् धेरै मेहेनत गरिएको बताए।
उनले भने, ‘झिङगेदाउको सफलतापछि त्यसमा झन धेरै मेहनत गरेको छु यसमा। सिनेमा पनि उत्कृष्ट बनेको छ। चलचित्रको उद्देश्य मनोरञ्जन दिनु हो। समाजको कथाको सन्देश दिनु हो। सबैले हेरेर प्रतिक्रिया दिनुहोला ’
चलचित्र रेखा फिल्मस् र गपनगढी सिनेमा प्रालिको संयुक्त ब्यानरमा तयार भएको हो। चलचित्रको छाँयाङ्कन केही हप्ताअघि मात्रै सकिएको थियो।
यो चलचित्रमा रेखा थापा र मुकुन भुषाल, पूजा शर्मा र समर्पणजंग कार्की, बेनिशा हमाल र तेज गिरीलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ।
काठमाडौं सहरको पृष्ठभूमिमा खिचिएको गीत रमणीय छ।
ज्ञानेन्द्र देउजाको निर्देशन र रेखा फिल्म्सको निर्माणमा बनेको यो फिल्मले गीत रिलिजसँगै प्रदर्शन मिति समेत घोषणा गरेको छ। यो फिल्म फागुन २५ गते रिलिज हुने भएको छ। सोही मितिमा दयाहाङ राईका दुई फिल्महरु ‘रंगेली’ र ‘लोकल हिरो’ले पनि प्रदर्शन घोषणा गरेका छन् भने नवल खड्काको ‘काँडेतार’ पनि सोही मितिमा आउँदैछ।












