११ वर्ष ११ महिना ५ दिन कैद किटान भएपछि रिगल जेल चलान
नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो।
नेपालगञ्ज, कात्तिक १७ : बाँके जिल्ला अदालतले सर्वोच्च अदालतको फैसला बमोजिम योगराज भनिने रिगल ढकाललाई ११ वर्ष ११ महिना ५ दिनको कैद सजाय भुक्तान समय किटेर जिल्ला कारागार कार्यालय नेपालगञ्ज चलान गरेको छ।
सर्वोच्चको विहीबारको फैसला अनुरुप बाँके प्रहरीले रिगललाई शुक्रबार बाँके जिल्ला अदालतमा उपस्थित गराएको थियो। जन्मकैद सजाय पाएका ढकाल रिगललाई आममाफी दिने सरकार र राष्ट्रपतिको निर्णय बदर गरी रिगललाई जेल पठाउन सर्वोच्च अदालतको पूर्ण इजलासले बिहीबार आदेश दिएको थियो।
नेपालगञ्जकै चेतन मानन्धरको हत्या अभियोगमा सजाय पाएका ढकाललाई संविधान दिवसका अवसरमा गत असोज ३ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद मिनाहा भएको थियो।
सर्वोच्चको फैसलापछि रिगलले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। अब रिगल पुरै समय जेलमा बस्नुपर्ने छ। रिगलमाथि खुँडा प्रहार गरी २९ असार २०७२ सालमा २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोग छ।