Kathmandu Press

विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटका उडान अनुमतिपत्र निलम्बित

विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटका उडान अनुमतिपत्र निलम्बित

काठमाडौं, कात्तिक १७ : रामेछापस्थित मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटको उडान अनुमति पत्र निलम्बनमा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरका क्याप्टेन सन्तोष साह र सञ्जीव श्रेष्ठको उडान अनुमति पत्र निलम्बनमागरेको हो।

उनीहरुका बारेमा थप अनुसन्धान हुने र कारबाही प्रक्रिया अगाडि बढाइने प्राधिकरणको भनाइ छ। बिहान ८ बजे लुक्लाबाट आएको जहाजका क्याप्टेन साह र रामेछापबाट त्यो जहाज लिएर लुक्ला जान लागेका अर्का क्याप्टेन श्रेष्ठबीच झगडा परेको हो ।

'राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ,' नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले भने।

एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भएको त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ। तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दुई जना पाइलटबीच व्यक्तिगत कारणले झगडा भएको देखिएको छ। 

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, कात्तिक १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्