‘मन्त्री बन्ने रहरले राजनीति गरेको होइन’
जनमत पार्टीले एक दशकभन्दा बढि संघर्ष गरेर, जनताको भावना बुझे उठाएको पार्टी भएको भन्दै पार्टी जनताको मत अनुसार चल्ने पनि उनले उल्लेख गरे।
काठमाडौं, कात्तिक १७ : जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले निर्वाचन जित्ने र मन्त्री बन्ने मात्रै रहर नभएको बताएका छन्।
तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्व २०८० को अवसरमा शुभकामना चियापान कार्यक्रममा उनले मन्त्री बन्ने मात्रै आफ्नो रहर नभएको बताउँदै दीर्घकालिन योजनाका साथ देश विकासमा आफू अघि बढेको उल्लेख गरे।
‘यो निर्वाचन जित्ने मात्रै रहर होइन, मन्त्री बन्ने मात्रै पनि रहर होईन, मन्त्री बन्ने भए म बनिसक्थे,’ उनले भने, ‘मन्त्री बन्ने मात्रै रहर नभएको हुनाले हामी अझ दीर्घकालिन योजनाका साथ अघि बढ्दै छौं। यसमा सबैको साथ सहयोग आवश्यक छ।’
उनले संसदीय व्यवस्था नामको मात्रै भएको भन्दै दुई, तीन जना नेताले जे निर्णय गर्छन् त्यही लागू हुने व्यवस्था विद्यमान रहेको बताए। जनमत पार्टीले एक दशकभन्दा बढि संघर्ष गरेर, जनताको भावना बुझे उठाएको पार्टी भएको भन्दै पार्टी जनताको मत अनुसार चल्ने पनि उनले उल्लेख गरे।
‘जुन संसदीय व्यवस्था भन्ने गरिन्छ, तर त्यहाँ संसदले भनेको केही कुरा लागू हुँदैन। दुई, तीन जना नेताले जे निर्णय गर्छन्, त्यही कुरा लागू हुने व्यवस्था विद्यमान छ,’ दुई, चारजना नेताले मात्रै ३० वर्ष देश चलाइरहेको बताउँदै उनले भने, ‘त्यसलाई चिर्नको लागि जनताले के चाहेको हो। जनताले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी चाहेका छन्, त्यो कुराहरुलाई सम्बोधन गर्न, जनताको मत अनुरुपको पार्टी जनमत पार्टी हो।’
डा. सिंहले आगामी दिनमा जनमत पार्टी देशको भविष्य बन्ने हिसाबले वैकल्पिक रुपमा स्थापित भएको भन्दै पुरानो पार्टीबाट दिक्क भएका जनताले जनमत पार्टीमा आशा राखेका बताए। उनले जनमत पार्टी वैकल्पिक शक्तिका रुपमा स्थापित भएको बताए।
उनले पुरानो पार्टीबाट दिक्क भएका जनताले जनमत पार्टीबाट आशा राखेको बताउँदै आफूहरुको काँधमा एउटा ठूलो जिम्मेवारी भएकाले जनताको इच्छा अनुसार विकासको काम गर्न सक्नु पर्ने बताए।











