संसद करदाताको पैसा सक्ने थलो मात्रै भयो : सांसद झा
दोस्रो अधिवेशनमा सांसदहरुले उर्तिण अंक समेत नपाएको भन्दै यसरीनै अधिवेशनहरु सकिन्छ भने त्यो करदाताको पैसा सकाउने र विभिन्न सेटिङ गर्ने थलो मात्रै हुदैँ छ कि भन्ने एउटा डर रहेको बताए।
काठमाडौं, कात्तिक १६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मानिस झाले सदन करदाताको पैसा सक्ने थलो मात्रै बन्दै गएको टिप्पणी गरेका छन्।
बिहीबार संसद भवनबाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले दोस्रो अधिवेशनमा सांसदहरुले उर्तिण अंक समेत नपाएको भन्दै यसरीनै अधिवेशनहरु सकिन्छ भने त्यो करदाताको पैसा सकाउने र विभिन्न सेटिङ गर्ने थलो मात्रै हुदैँ छ कि भन्ने एउटा डर रहेको बताए।
‘हाम्रो राजनीतिक यात्रामा हाम्रो दोस्रो अधिवेशन मात्रै हो यो, यसमा कस्तो कामहरु भयो भन्दा हामीले पास मार्क पनि पाएनांै,’ उनले भने, ‘यसरी नै अधिवेशनहरु सकिन्छ भने त्यो करदाताको पैसा सकाउने र यहाँ आएर वक्तित्वकला प्रतियोगिता गर्ने र अर्को विभिन्न सेटिङ गर्ने थलो मात्रै हुदैँ छ कि भन्ने एउटा डर छ।’
सांसद झाले दुईवटा अधिवेशनमा २७५ जनामा ७५ जना लोभ लाग्दा सांसदहरु रहेको महशुुस गरेको बताए।
‘यो दुई अधिवेशनमा के महशुस गरे भने २७५ जनामा ७५ जना लोभ लाग्दा सांसदहरु हुनुहुन्छ । २५ जना प्रयासरत छन्, अरु जुन बाँकी हुनुहुन्छ, उहाँहरु उपस्थितिको लागि मात्रै उपस्थित हुनुहुन्छ र पदमा बस्नको लागि मात्रै बस्नु हुन्छ,’ उनले भने।
उनले अब सांसदहरुलाई पनि गृहकार्य दिनुपर्ने भन्दै जनताको जनप्रतिनिधित्व गर्नको लागि कतिको क्षमता छ भनेर एउटा जिम्मेवारी दिन आवश्यक रहेको बताए।











