रिगललाई माफी मिनाहा दिने निर्णय सर्वोच्चद्वारा खारेज, तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको विशेष इजलासले बिहीबार रिगलको कैद माफी मिनाहा गर्ने निर्णय खारेज गरेको हाे।
काठमाडौं, कात्तिक १६ : सर्वोच्च अदालतको विशेष इजलासले जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद माफी मिनाहा गर्ने निर्णय खारेज गरेको छ।
सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.कुमार चुडालको विशेष इजलासले बिहीबार उक्त निर्णय गरेको हो।
संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा रिगलको कैद सजाय मिनाहा गर्ने निर्णय भएको थियो। सर्वोच्चले रिगललाई तत्काल पक्राउ गरी बाँकी कैद असुल गर्न समेत परमादेश जारी गरेको छ।
हत्या गरिएका आफ्ना श्रीमान् चेतन मानन्धरको जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषद्को सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै भारती शेर्पा मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
विशेष इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय अपराध पीडितको हक प्रतिकुल देखिएको बताएको छ । रिगललाई तत्काल थुनामा पठाउन उत्प्रेषणको आदेश भएको छ।
नेपालगञ्ज बजारमा खुँडा प्रहार गरेर २८ असार २०७२ मा चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वश्वसहित जन्म कैदको सजाय भएको थियो। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल जिल्ला कारागार, दाङबाट छुटेका थिए।











