सत्ताबाट हट्नु पर्दाको पीडा सदन अवरोध गरेर पोख्ने होइन : अध्यक्ष नेपाल
‘म सरकारलाई मात्रै दोष दिन चाहन्न। सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफू भित्रको कमजोरी हेर्नुपर्छ। सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्ने गरी व्यक्त गर्ने काम गर्ने होइन’ उनले भने।
काठमाडौं, कात्तिक १६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रतिपक्ष दलले सत्ताबाट हट्दाको पीडालाई सदन अवरोध गरेर पोखेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारलाई मात्रै दोष नदेखाई प्रतिपक्षले आफूभित्रको कमजोरी पनि हेर्नुपर्ने टिप्पणी गरे।
‘म सरकारलाई मात्रै दोष दिन चाहन्न। सरकारलाई मात्रै दोष दिएर हुँदैन प्रतिपक्षले पनि आफू भित्रको कमजोरी हेर्नुपर्छ। सत्ताबाट हट्नुपर्ने पीडालाई यसरी सदनलाई अवरोध गरेर सरकारलाई असहयोग गर्ने गरी व्यक्त गर्ने काम गर्ने होइन’ उनले भने, ‘जनतालाई त्यसले असर गर्छ । सरकारले गरेको कामलाई राम्रो भन्न सक्नुपछ। त्यसैलाई रचनात्मक विपक्ष भनिन्छ । पीडा पोखेरमात्र हुँदैन, धारे हात लगाएर मात्र हुँदैन्, सदन अवरोध गरेर मात्रै हुँदैन।’
अध्यक्ष नेपालले अहिले देशमा दुईवटा अतिवादी भाष्य निर्माण गरिएको भन्दै त्यस्ता भाष्यबाट मुक्त भएर समस्याको समाधानका लागि उपाए खोज्नुपर्ने बताए।
‘अहिले दुईवटा भाष्य नेपालमा प्रचलित छन् । एउटा भाष्य छ–सबै डुब्यो, सबै वर्वाद भयो, कुनै उपलब्धि भएका छैनन् । यो अत्यन्तै निराशावादी भाष्य हो । अर्को सवैथोक राम्रो गरियो, गजबै छ । चिन्ता गर्नु पर्ने छैन भन्ने भाष्य छ,’ उनले भने।
अध्यक्ष नेपालले देशमा धेरै चुनौती र समस्याहरू आफुहरुकै नालायकीका कारणले आएका भन्र्दै अरूलाई दोष दिएर नहुने बताए।











