संविधान असफल बनाउने छुट कसैलाई छैन : प्रमुख सचेतक लेखक
‘संविधानको विरुद्धमा आवाज उठिरहेको बेला जानेर नजानेर संविधानविपरीत वातावरण बन्ने गतिविधि हामीबीचबाटै भइरहेका त छैनन् ? यसमा ध्यान दिन जरुरी छ ।’
काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसका प्रमुख सचेतक तथा सांसद रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान असफल भए मुलुक अत्यन्त अनिष्टकारी र बिषम परिस्थितिमा पुग्ने भन्दै संविधानलाई असफल बनाउने छुट कसैलाई नभएको बताए।
‘पहिलेका केही संविधान सफल भए, केही असफल भए । अब यो संविधान असफल गर्ने छुट कसैलाई छैन । यदि यो संविधान असफल भयो भने मुलुक एउटा अत्यन्त अनिष्टकारी, अप्ठ्यारो र बिषम परिस्थितिमा पुग्न सक्छ,’ उनले भने, ‘यो संविधान मुलुकका धेरै राजनीतिक संघर्षहरु, क्रान्ति, बलिदान र ठूलाठूला योगदान र ७० वर्ष लामो राजनीतिक यात्राबाट प्राप्त भएको संविधान हो।’
संविधानविपरीत वातावरण बन्ने गतिविधि आफूहरुकै बीचबाट भइरहेका छन् कि भन्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए। लेखकले भने, ‘संविधानको विरुद्धमा आवाज उठिरहेको बेला जानेर नजानेर संविधानविपरीत वातावरण बन्ने गतिविधि हामीबीचबाटै भइरहेका त छैनन् ? यसमा ध्यान दिन जरुरी छ ।’











