‘संविधानको रक्षार्थ सबै दल एकै ठाउँमा उभिन आवश्यक छ’
प्रतिनिधिसभाको बिहिबारको बैठकमा उनले यो संधिवान र व्यवस्था प्रति नै खतरा उत्पन्न भएको भन्दै त्यसलाई रोक्न सबै दल एक ठाउँमा उभिन जरुरी रहेको बताए।
काठमाडौं, कात्तिक १६ : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानको रक्षाका लागि सबै दल एक ठाउँमा उभिन आवश्यक भएको बताएका छन्।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा उनले यो संधिवान र व्यवस्था प्रति नै खतरा उत्पन्न भएको भन्दै त्यसलाई रोक्न सबै दल एक ठाउँमा उभिन जरुरी रहेको बताए।
‘यो संविधान निर्माण गर्ने यो व्यवस्थाको परिकल्पना गर्ने हामी सबै यहाँ बसेका राजनीतिक दलहरु कमसे कम यो संविधानको सुरक्षाको लागि र यो व्यवस्थाको रक्षाको लागि एक ठाउँमा उभिन जरुरी छ । म यो आग्रह गर्न चाहान्छु,’ उनले भने।
लेखकले प्रायोजित ढंगले यो व्यवस्थाविरुद्ध आवाज उठ्न थालेको भन्दै असन्तुष्टि पोखे।
‘यो संविधान र अहिलेको व्यवस्थामा यदा कदा यसका विरुद्धमा आवाजहरु उठाइने गरेको छ । प्रायोजित ढङ्गले उठेको छ,’ उनले भने ‘यो व्यवस्था, संविधान नै खराब हो या यो व्यवस्था ल्याउने पुरानो दलहरु नै बेठिक हुन् । काम लाग्दैनन् भन्ने प्रायोजित ढङ्गले भाष्य तयार गर्ने प्रयत्न भइरहेको छ। जुन देशको लागि खतरा छ । यसले मूलुकलाई राम्रो गर्दैन्।’











