रास्वपा सांसद् सोविता भन्छिन्– महँगी नियन्त्रण गर्न नसक्नु सरकारको अकर्मण्यता
उनले बजार चलायमान हुन नसक्दा यस वर्षको व्यापार व्यवसाय सुस्ताएको र व्यवसाय घाटा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको उल्लेख गरिन्।
काठमाडौं, कात्तिक १६ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले बढ्दो महँगीको सवालमा सरकारले आफैं गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु सरकारकै अर्कमण्यता भएको टिप्पणी गरेकी छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बजार चलायमान हुन नसक्दा यस वर्षको व्यापार व्यवसाय सुस्ताएको र व्यवसाय घाटा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको उल्लेख गरिन्।
‘बजार चलायमान हुनुपर्ने तर यस वर्षको व्यापार व्यवसाय एकदमै सुस्ताएको छ । व्यवसाय घाटामा गएकै कारण मुलुकभर झण्डै ५० प्रतिशत सटर खाली रहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ,’ उनले भनिन्, ‘व्यापारीले सामान बेच्न सकेका छैनन् । उपभोक्ताले महङ्गी बढेर किन्न सकेका छैनन्। यस्ता विषयमा दीर्घकालीन योजना बनाउने सवालमा सरकारल चुकेकै हो।’
सरकारले आफैं गरेका अल्पकालीन निर्णय कार्यान्वयन गराउन नसक्नु अर्कमण्यता भएको उनले बताइन्।











