प्रिन्सिपल सर्राफको हत्याका पाँच आरोपी सार्वजनिक
सर्राफको हत्यामा आठजना संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य तीन जनाको खोजी कार्य भइरहेको छ।
बारा, कात्तिक १५ : कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्याका आरोपी पाँच जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक सर्राफको सोमबार कलैयामा गोली हानी हत्या गरिएको थियो। सर्राफको हत्यामा आठजना संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्य तीन जनाको खोजी कार्य भइरहेको छ।
पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह छन् । मुख्य अभियुक्त एवम् योजनाकार भनिएका मनोज गुप्ता भने भारतमा फरार रहेको जानकारी प्रहरीले दिएको छ।
सर्राफको हत्या एक महिलाको रिसइवीका कारण हुन पुगेको प्रारम्भिक निश्कर्षमा प्रहरी पुगेको छ। सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको भनाई प्रहरीको छ। प्रहरीले थप मानिसहरुसँग पनि सोधपुछको कार्य भइरहेको जनाएको छ।











