Kathmandu Press

आरती साहको विषयमा प्रभावकारी निर्णय गर्न जोड

बुधबार सिंहदरबारमा बसेको बैठकमा सदस्य हर्कमाया विश्वकर्माले आरती साहको विषयमा समितिले संवेदनशील भएर सरकारलाई दबाब दिने हिसाबको निर्णय गर्नुपर्ने बताएकी छन्।
आरती साहको विषयमा प्रभावकारी निर्णय गर्न जोड

काठमाडौं, कात्तिक १५ : प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा आरती साहको विषयमा आवाज उठेको छ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा सदस्य हर्कमाया विश्वकर्माले आरती साहको विषयमा समितिले संवेदनशील भएर सरकारलाई दबाब दिने हिसाबको निर्णय गर्नुपर्ने बताएकी छन्।

आज बसेको समितिको बैठकमा उनले यस विषयलाई दबाबपूर्ण तरिकाले टुङ्गो लगाउने हो भने बैठक मात्रै बसेर केही नहुने भन्दै आन्दोलनमा रहेका परिवारमाथि दमन गर्ने प्रहरीहरुलाई निलम्बित गर्ने र दोषीलाई कारबाही गर्नुपर्ने बताइन्।  

‘आरती साहको विषयमा महिला समिति एकदमै संवेदनशील छ र यो विषयमा सरकारलाई दबाब दिने हिसाबको ठोस निर्णय भयो प्रभावकारी हुनेछ,’ उनले भनिन्, ‘दमन गर्ने प्रहरीहरुलाई निलम्बित गर्नुपर्छ भन्ने हाम्रो माग हो।’

यस्तै, उनले यो विषयलाई मन्त्रालयमा लिएर जाँदा पनि केही समाधान नभएको भन्दै समस्याको तत्कालै समाधान गर्नुपर्ने बताइन्।

समिति सदस्य चन्दा चौधरीले यो विषयलाई सरोकारवालहरु र प्रधानमन्त्रीलाई पनि राखेर छलफल गरेर कार्यान्वयनमा जानुपर्ने बताइन् ।

उनले भनिन्, ‘आरती साहको केश महिनौं भइसकेको छ, यस्तो तरिकाले कुनै आन्दोलन भएको छ जस्तो लाग्दैन । प्रशासनको व्यवहार पनि राम्रो छैन। सबै सरोकारवालहरुलाई राखेर प्रधानमन्त्री पनि सँगै बसेर के गर्न सकिन्छ, दोषीलाई किन कारबाही नभएको भन्ने विषयमा छलफल गरेर छिनोफानो गर्नुपर्छ । दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनु पर्छ ।’

धनुषाको नगराइन ८ खिरखिरयाकी २५ वर्षीया आरती साहको हत्या भएको थियो । उनको माइती पक्षले दाइजोको कारण परिवारबाटै हत्या भएको जनाउँदै आएको छ ।

दोषीमाथि कारबाही गर्न उनका परिवारका सदस्य झण्डै तीन महिनादेखि आन्दोलनरत छ।

प्रकाशित मिति: १५:०७ बजे, बुधबार, कात्तिक १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्