काठमाडौं युनेस्कोको ‘रचनात्मक सहर सञ्जाल’मा जोडियो
अन्तरक्रियामा महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प भएको भन्दै यसलाई छनोट गरेको बताइन्।
काठमाडौं, कात्तिक १५ : चलचित्र विधाबाट काठमाडौं युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रियटिभ सिटिज नेटवर्क)मा जोडिएको छ। आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा काठमाडौं महानगरपालिकाले उक्त जानकारी दिएको हो।
अन्तरक्रियामा महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प भएको भन्दै यसलाई छनोट गरेको बताइन्।
‘काठमाडौंमा भएका सम्पूर्ण विधालाई समेट्नका लागि फिल्म नै राम्रो विकल्प रहेको हुँदा हामीले यसलाई छनोट गरेका हौं। हामी गीतमा पनि काम गर्छौं,’ उनले भनिन्, ‘हामीले काठमाडौंमा भएका मूर्त, अमूर्त सम्पदाहरुमा काम गरिरहेका छौं।’
उनले युनेस्कोमा आवद्ध भएपश्चात फिल्मसँग सम्बन्धित उद्योगको संरक्षण गर्ने, सञ्चालन गर्ने र प्रवर्द्र्धन गर्ने योजनाहरु रहेको भन्दै यसबाट देशको आर्थिक अवस्था सुधारमा पनि सहयोग पुग्ने बताइन्।
रचनात्मक सहरका लागि तोकिएका ७ क्षेत्रमध्ये काठमाडौं महानगरपालिकाले चलचित्र विधा छानेको थियो। सीसीएन (युनेस्को क्रियटिभ सिटीज नेटवर्क) मा आवद्ध हुन शिल्प तथा लोककला, संगीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी खानाका परिकार, मिडिया कला र डिजाइनमध्ये कुनै एउटा विधा छान्नु पर्ने प्रबन्ध थियो । यीमध्ये महानगरपालिकाले चलचित्र विधा छानेको हो।
सयभन्दा धेरै देशका ३५० सहर रचनात्मक सहर सञ्जालमा आवद्ध छन् । यसपटक ५५ वटा सहर थपिएका हुन्।
रचनात्मक सहरमा आवद्ध हुन निर्णय भएपछि व्यवस्थापन केन्द्र स्थापना गरेर सरोकारवालाको पहिचान गरिएको थियो। सरोकारवालाबीच परामर्श समूह निर्माण, विषय र रचनात्मक सम्पत्तिको नक्साङ्कनसहितका काम भइसकेका छन्।
जनजीवन, भूगोल, बस्ती र सांस्कृतिक मूर्त अमूर्त सम्पदासँग जोडिएका ऐतिहासिक र पुरातात्विक रोचक कथाका कारण काठमाडौंलाई रचनात्मक सहरका रुपमा हेर्ने गरिएको छ। जात्रा, पर्व, मौलिक भेषभुषा, खानपान काठमाडौंसँग जोडिएर आउने बिम्ब हुन्। सहर भन्नेवित्तिकै मनमा आउने पहिलो चित्र यही हो।











