‘लुम्बिनीबाट शान्तिको सन्देश प्रवाह गर्दा खुसी लागेको छ’
‘शान्ति र मानवता अपरिहर्य विषय हुन्, मानवीयता मर्न दिनु हुन्न,’ उनले भने, ‘बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँं।’
लुम्बिनी, कात्तिक १४ : नेपाल भ्रमणका क्रममा आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताए।
उनले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गरे। अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु।’
बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उनले खुसी व्यक्त गर्दै उहाँले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गरे। उनले विश्वभर नै जलवायु परिवर्तनले वातावरणीय क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गरे।
‘शान्ति र मानवता अपरिहर्य विषय हुन्, मानवीयता मर्न दिनु हुन्न,’ उनले भने, ‘बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दोजुल्दो छ। यो शान्तिको मुहान लुम्बिनी घुमौँ र यहाँबाट सबैले सिकौँं।’
महासचिव गुटेरेसले शान्ति दीपबाट मायादेवी मन्दिरमा पुगेर दर्शन गरे। यसअघि उनले शान्तिदीपमा दीप प्रज्ज्वलन पनि गरेका थिए। शान्तिदीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल पुगेका थिए।