पूर्वमहासचिव मुनले ल्होत्से हलमा सम्बोधन गरेका थिए

काठमाडौं, कात्तिक १३ : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई भोलि कात्तिक १४ गते मंगलबार ४ बजे सम्बोधन गर्ने भएका छन्। महासचिव गुटरेस नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि हुनेछन्।
यसअघि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका तत्कालीन महासचिव वान्की मुनले संसदको ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गरेका थिए। त्यतिबेला संसदको ऐन र नियमावलीमा त्यसरी सम्बोधन गर्ने व्यवस्था नभएकाले ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गर्ने प्रबन्ध मिलाईएको प्रतिनिधि सभाका प्रवक्ता (सहसचिव) एकराम गिरीले बताए।
संविधानसभाले संविधान बनाएर घोषणा गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेका थिए। २०५० सालतिर भारतका तत्कालिन प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल भ्रमणमा आएका बेला पनि उनले संसदलाई सम्वोधन गर्ने विषयमा छलफल भएको थियो। तर संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा त्यस किसिमको व्यवस्था नभएकाले नियम संशोधन गरेर भए पनि सम्बोधनको प्रबन्ध मिलाउने सल्लाह भएको सम्झन्छन् संसदका तत्कालीन महासचिव सूर्यकिरण गुरुङ। तर किन हो गुजरालले सम्बाेधन भने गरेनन्।
उच्च तहका व्यक्तित्वहरु आफ्नो देशको औपचारिक भ्रमणमा आएका बेला सम्मानार्थ संसदलाई सम्वोधन गर्ने अन्तर्राष्ट्रिय प्रचलन रहेको पूर्व महासचिव गुरुङले बताए।











