राष्ट्रसंघका महासचिव गुटेरेस र सभामुख घिमिरेबीच भेटवार्ता

काठमाडौँ, कात्तिक १२ : नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेटवार्ता गरेका छन्।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो। सो क्रममा सभामुख घिमिरेले संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक चाँडै पारित हुने बताएका थिए।
महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान नेपाल आइपुगेका हुन्। उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो।
भ्रमणका क्रममा गुटेरेस सोमबार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जाने कार्यक्रम छ भने कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते फर्कनेछन्।











