Kathmandu Press

राष्ट्रसंघका महासचिव र राष्ट्रपति पौडेलबीच भेटवार्ता

आज अपराह्न शीतल निवासमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो।
राष्ट्रसंघका महासचिव र राष्ट्रपति पौडेलबीच भेटवार्ता

काठमाडौँ, कात्तिक १२ :  नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। 

आज अपराह्न शीतल निवासमा उनीहरुबीच शिष्टाचार भेटवार्ता भएको हो। सो अवसरमा उनीहरुबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको जनाइएकाे छ।

महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक  हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन्।

महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान १ बजे यहाँ आइपुगेका हुन्। उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए। 

साथै उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो। भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्। प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नेछन्।

भ्रमणका क्रममा सोमबार उहाँ नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ। यही कात्तिक १४ गते मङ्गलबार अपराह्न ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री दाहालको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन्। महासचिव गुटेरेस नेपाल भ्रमण सम्पन्न गरी कात्तिक १५ गते ९१ नोभेम्बरमा० काठमाडौँबाट प्रस्थान गर्नेछन्।

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, कात्तिक १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्