Kathmandu Press

नेपाली कांग्रेसको शुभकामना र चियापान सुरु

नेपाली कांग्रेसको शुभकामना र चियापान सुरु

काठमाडौँ, कात्तिक ११ : कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। पार्टी सभापति शेरबहादुर देउवालगायत पदाधिकारी र केन्द्रीय सदस्यले आगन्तुक पाहुनालाई समारोहमा स्वागत अभिभादन गरिरहेका छन्। 

भरखरै प्रारम्भ भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ। कांग्रेसले बडादसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गरेको हो। 

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिलाई आमन्त्रण गरेको छ। बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो। 

विसं २०३८ सम्म बिपीले यसलाई निरन्तरता दिएको थियो। त्यसपछि कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै अहिले कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान कार्यक्रमलाई निरन्तरता दिएका हुन्। कांग्रेसले बडादसैंको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।

प्रकाशित मिति: १३:४३ बजे, शनिबार, कात्तिक ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्