Kathmandu Press

कांग्रेसको चियापान शनिबार

नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ।
कांग्रेसको चियापान शनिबार

काठमाडौं कात्तिक १० : कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले भोलि शनिबार दिउँसो २ देखि ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ।

बडादसैं, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्न लागेको पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने छ भने अन्य जिल्लाको चियापानको संयोजन सम्बन्धित जिल्ला कार्य समितिले गर्ने छन्।

पार्टी नेता अर्जुननरसिंह केसीले  बिपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादसैं लगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न सुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको बताए।

अहिले पनि मेलमिलापको आवश्यकता त्यत्तिकै रहेको बताउँदै उनले गौरवकारुपमा रहेको विविधताबीचको धार्मिक, सामाजिक र सांस्कृतिक एकताको सन्देश छर्न सकोस् भन्ने उद्देश्य बोकेको चियापन मेलमिलापको कार्यक्रम भएको बताए।

कांग्रेसले चियापानमा सहभागी हुन राजनीतिक दलका प्रमुख, मन्त्रिगण, सांसद, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिलाई आमन्त्रण गरेको छ।

बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान सुरु गरेको हो।

प्रकाशित मिति: १९:१९ बजे, शुक्रबार, कात्तिक १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्